ताजा समाचार

मुलुकको विकास र समृद्धिका लागी झुलाघाट -चिवाभञ्ज्याङ पदयात्राः प्रचार विभाग प्रमुख गौतम

कैलाली । मुलुकको  विकास र समृद्धिको लागि एमालेले पदयात्रा गर्न लागेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले झुलाघाट देखी चिवाभञ्ज्याङ सम्मको पदयात्राले मुलुकमा समृद्धिको थप आधार तय हुने विश्वास व्यक्त गरे । आगामी १४ गते बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्माले उक्त पदयात्राको उद्घाटन गर्ने छन् ।

तीन सातासम्म जारी रहने पदयात्राका क्रममा मध्य पहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया गरिने उनले जानकारी दिए ।

पहाडको विकास नभई देशको विकास सम्भव नभएको भन्दै यस क्षेत्रको विकास गर्न जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय बस्तुमा गहन छलफल गरिने गौतमले बताए ।

‘राष्ट्रिय अभियान हो । १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ’ उनले भने, ’यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौ ।‘

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प र त्यसले पारेको प्रभावका विषयमा पनि कर्णाली प्रदेशमा बहस हुने उनले बताए ।

‘चौरजहारीमा भूकम्पले त्यहाँ पारेको प्रभाव, उद्धार, राहत , पुनर्निर्माणको विषयमा अन्तरक्रिया गर्छौ । जनताको पक्षबाट सरकारको ध्यानाकर्षण गराउँछौँ ’पत्रकार सम्मेलनमा गौतमले जानकारी दिए ।

अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो हुने र आर्थिक पुनर्निर्माणका लागि सम्भावना बढ्ने गौतमले बताए ।

अभियानको पूर्व सन्ध्यामा प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीको बैठक दार्चुलामा राखेको छ ।

१२ र १३ गते हुने बैठकमा देशभरिका प्रेस चौतारीका नेता कार्यकर्ता उपस्थित भएको भन्दै गौतमले उक्त बैठकले पनि पनि झुलाघाट -चिवाभञ्ज्याङ पदयात्राको महत्त्व बढाउने विश्वास व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org