ताजा समाचार

विश्वकाे समर्थन होस् वा नहोस् हमास सखाप नभएसम्म गाजामा युद्ध जारी रहन्छः प्रधानमन्त्री नेतन्याहु

इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासविरुद्धको इजरायलको लडाइँ कसैले रोक्न नसक्ने बताएका छन् ।

‘वैश्विक दबाब’ले पनि याे लडाइँ नराेकिने उनले बताए । नेतन्याहुले सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) मा एक भिडियो शेयर गर्दै यस्तो बताएका हुन् ।

‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी यो लडाइँलाई अन्तिम समयसम्म जारी राख्नेछौँ र यसमा कुनै प्रश्न नै छैन । हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि म यो भन्दैछु’, उनले भने ।

‘हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, हामी अन्त्यसम्म लड्नेछौँ र जित्नेछौँ’, उनले थपे । यसअघि गाजामा युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभामा पारित भएको थियो । त्यहाँ इजरायली विदेशमन्त्री एली कोहेनले यो युद्ध ‘विश्वव्यापी दबाब र विश्वव्यापी दबाबबिना’ दुवै अवस्थामा जारी रहने बताएका थिए ।

उनले भने, ‘अहिलेको चरणमा युद्धविराम आतंकवादी संगठन हमासका लागि उपहार हो, यदि युद्ध रोकियो भने हमास फर्कनेछ र इजरायलीहरूका लागि खतरा फेरि बढ्नेछ ।’

हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वव्यापी समर्थन गुमाउने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org