ताजा समाचार

राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२

काठमाडौं । दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरु ४ जनाको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएको जनाइएको छ । दुर्घटनामा मृत्यु हुनेमा नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०र ३५ वर्षीय शौरभ बिष्ट, जुम्लाको चन्दनाथ-९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रुकुम गोतामकोट-९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीयय योगेन्द्र राम र भारत उत्तर प्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको खनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनास्थलमा सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासी उद्धारकार्यमा खटिएका छन् । बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्दछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org