ताजा समाचार

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेको सिफारिसबमोजिम राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले सिफारिस भई आएबमोजिम संघीय संसद्को महासचिवमा पाण्डेयलाई नियुक्त गरिएको बताए । पाण्डेयलाई मंगलबार राष्ट्रपतिले महासचिव नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गरेर महासचिव नियुक्त भएको जानकारी गराएका छन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका- १, पाल्पा जिल्ला निवासी पद्मप्रसाद पाण्डेयलाई मिति २०८० माघ २३ गते देखि लागु हुनेगरी संघीय संसद्को महासचिव पदमा नियुक्त गर्नुभएको छ, विज्ञप्तिमा उल्लेख छ ।’

पाण्डेयलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षले मंसिर २५ गते महासचिवमा सिफारिस गरेका थिए भने माघ ३ मा नियुक्तिका लागि राष्ट्रपतिकहाँ स्मरणपत्र पठाएका थिए । प्रतिनिधिसभा सचिवमा कार्यरत रहेका पाण्डेयले मंगलबारमात्रै पदबाट राजीनामा गरेका थिए । राजीनामा गरेपछि उनलाई संसद्को महासचिव नियुक्त गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org