ताजा समाचार

एमालेले वैशाख ८ र ९ गते बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक

काठमाडौं। नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बैशाख ८ र ९ गतेका लागि बोलाएको छ ।

शुक्रवार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकमा मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा बैठकमा छलफल भएको महासचिव शंकर पोखरेलले बताए । फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका छन् ।

‘त्यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा छ,’ महासचिव पोखरेलले बताए ।

जनताको निराशालाई आशमा बदलेर विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी हुने एमालेको भनाइ छ । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ,’ उनले भने, ‘यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको छ ।’

एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org