ताजा समाचार

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता

विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा कोशी एन के मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने बुझिएको छ ।

नेपालमा लगानी सम्मेलन चलिरहेको बेला सोमबार चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिले चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौता गरेका हुन् । दुई कम्पनीले पहिलो चरणमा तीन अर्ब लगानी गर्नेछन् ।

एक वर्षभित्र विराटनगरमा चार पाङ्ग्रे गाडीको उत्पादन सुरु गर्ने लक्ष्य रहेको कोशी एन के मोटर्स प्रालिका अध्यक्ष टीकाराम पुरीले सञ्चारमाध्यमलाई जानकारी दिनु भयाे । कोशी मोटर्सले चिनिया कम्पनीसँगको सहकार्यमा बस उत्पादन गर्ने लक्ष्य लिएको छ । सम्झौता अनुसार उत्पादन सुरु भए कोशी मोटर्स ठूला सवारी उत्पादन गर्ने पहिलो कम्पनी हुनेछ ।

स्यामन गोल्डेन चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी र पार्ट्स उत्पादन गर्ने चिनियाँ कम्पनी हो । यो कम्पनीले अन्य विद्युतीय सवारी उत्पादकलाई पनि गाडीका पार्टसहरु बिक्री गर्छ । नेपालको आवश्यकता र परिवेश अनुसार चिनियाँ र कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय सवारी उत्पादन हुने पुरीले जानकारी दिनुभयाे । उहाँका अनुसार विद्युतीय गाडी उत्पादन प्लान्ट स्थापनाका लागि मोरङको बुढीगंगामा १५ विघा जग्गा तयारी अवस्थामा छ ।

एक वर्षभित्र सवारी उत्पादन गर्नेगरी पहिलो चरणमा तीन अर्ब लगानी गरिने अध्यक्ष पुरीको भनाइ छ । यो सम्झौताले आर्थिक मन्दीलाई चिर्दै नेपालमा लगानीको वातावरण रहेको सन्देश दिने पुरीले दाबी गर्नुभयाे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org