ताजा समाचार

सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छः प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने भएको छ ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी गराएका हुन् ।

सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित विषलाई सम्बोधन गर्नेगरी बजेट बनाउन लागेको पनि उनले बताए । जनतामा व्याप्त निराशा चिर्दै भरोसा जनाउने मूल मन्त्रलाई बजेट र नीति तथा कार्यक्रममार्फत व्यवहारमा उतार्न सरकार लागिपरेको प्रधानमन्त्रीको भनाई छ ।

‘देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा छ । यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ’, उनले भने ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले बेरोजगारी न्यूनीकरण गर्दै उत्पादकत्व अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रकारको कार्यक्रम ल्याइने पनि बताए । सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियन, निजी क्षेत्र लगायतको साथ रहने विश्वाससमेत उनले व्यक्त गरे ।

‘सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल मन्त्रलाई व्यवहारिक रुपमा सम्बोधन गर्नेछ भन्नेमा सरकार प्रष्ट छ’, प्रधानमन्त्रीले विश्वास दिलाउँदै भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्नेछ । तसर्थ, सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरु, निजी क्षेत्रलगायत सबैको साथ रहने मेरो विश्वास छ ।’

सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको सामना गर्दै अघि बढिरहेको पनि जानकारी गराए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org