ताजा समाचार

सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल

काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा र औपचारिक क्षेत्रमा रहेको श्रमजीवी वर्ग सामाजिक सुरक्षा कार्यक्रमबाट बञ्चित रहेकाले उनीहरूलाई त्यसमा जोड्ने कुरामा सरकारले भूमिका खेल्नुपर्ने बताएका हुन् ।

महासचिव पोखरेलले यो अभियानमा एमालेका तर्फबाट सरकारलाई साथ दिने प्रतिबद्धता जनाए । उनले बलियो श्रम संस्कृतिको निर्माण गर्दै राष्ट्र निर्माणको अभियानमा जुट्ने वातावरण बनाउन पनि सरकारले विशेष काम गर्नुपर्ने बताए । नेपालमा लाहुरे संस्कृति विकास र समृद्धिको बाधकको रहेको औँल्याउँदै उनले त्यसको अन्त्य गर्ने कुरामा लाग्न पनि सरकारलाई सुझाव दिए ।

मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्न अवैधानिक अर्थतन्त्रको बोलवाला अन्त्य हुनुपर्ने भएकाले त्यसमा पनि सरकारले चनाखो भएर काम गर्नुपर्ने महासचिव पोखरेलको भनाइ थियो । महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन पनि सरकारले वैधानिक अर्थतन्त्रका प्रवर्द्धन गर्ने नीतिलाई आत्मसात गरेर अघि बढ्नुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org