ताजा समाचार

राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

ओटावामा बुधबार आयोजित  समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उनको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिए। सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुन भएका प्रयासबारे पनि उनले जानकारी दिए।

दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रसन्नता व्यक्त गरिन्।  साथै उनले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org