ताजा समाचार

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।

आज गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको जोड दिएका छन् ।

उनले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गरेका छन् ।आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उहाँहरुको समर्पण, साहस र बलिदानको स्मरण गर्दै सभापति देउवाले उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्र कार्यान्वयनका लागि विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org