ताजा समाचार

टी–२० विश्वकपमा अमेरिकाको उत्कृष्ट सुरुवात, क्यानडा सात विकेटले पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडामाथि ७ विकेटको सानदार जित निकालेको छ ।

पहिलो इनिङमा १९५ रनको विशल लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै सहजै लक्ष्य पूरा गर्‍यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनको सानदार पारी खेले ।

एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको विशाल शतकीय साझेदारी गरेका थिए ।

कलिम सानाको दोस्रो बलमै ओपनर स्टिभ टेलर शून्य रनमा एलबी डब्लू आउट भए पछि अमेरिका दबाबमा परेको थियो । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६.३ ओभरमा ४२–२ को अवस्थामा थियो ।

तर त्यसपछि जोन्स र गौसले दबाब पूर्ण अवस्थाबाट टिमलाई खेलमा फर्काउदै खेलको माहोल नै परिवर्तन गरेका थिए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एक–एक विकेट लिए ।

क्यानडाका लागि ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए पनि खेल जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए ।

समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org