ताजा समाचार

सिक्किम विधानसभा चुनावमा गोले नेतृत्वको दलले ३२ मा ३१ सिट जित्यो

काठमाडौं । सिक्किमको राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ । भारतीय अखबार हिन्दूका अनुसार ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दल एक्लैले ३१ सीट ल्याएको छ ।

सिक्किममात्रै होइन भारतभरका राज्यहरुमा सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले भने एक सीटमात्रै जितेको छ ।सन् २०१९ को चुनावमा १७ सीट ल्याएर सामान्य बहुमत ल्याएको गोलेको दल एसकेएमले यो चुनावमा भव्य जनमत पाएर सत्ता जोगाएको छ । पवन चाम्लिङको दल एक सीट भएको प्रतिपक्षीको रुपमा अहिलेसम्मकै सबैभन्दा सानो आकारमा आएको छ ।

सन् २०२३ नोभेम्बरमा चर्चित सिक्किमे फुटबल खेलाडी भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी आफूमा विलय गराएका चाम्लिङले अनुमान गरेकोभन्दा ज्यादै कमजोर प्रदर्शन गरेका छन् ।गत अप्रिल १९ मा भएको चुनावको परिणाम आज सार्वजनिक भएको हो । शानदार विजयपछि गोलेले सबैलाई धन्यवाद दिएका छन् ।

सिक्किमे चुनावको अझ रोचक पक्ष चैँ पवन चाम्लिङले आफू उठेका दुवै क्षेत्रबाट चुनाव हारेका छन् । उनले पोक्लोक काम्ब्राङ र नाम्चेबुङमा हारेका छन् ।पोक्लोकमा उनले एसकेएमका भोजराज राईसँग ३,०६३ मतान्तरले हारेका छन् । चाम्लिङको मत ४,९७४ आउँदा राईको ८,०३७ मत आएको थियो ।

यस्तै चाम्लिङको नाम्चेबुङको चुनावमा उनले एसकेएमका राजु बस्नेतसँग २,२५६ मतले पराजित भएको भारतीय मिडिया आउटलेट बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । चाम्लिङले ४,९३९ मत पाउँदा बस्नेत ७,१९५ मत ल्याएर विजय भएका थिए ।सन् १९९४ बाट २०१९ सम्मलगायत मुख्यमन्त्री भएर सिक्किम सत्तामा आएका पवन चाम्लिङले यो चुनावलाई आफ्नो जीवनको अन्तिम चुनाव भनेर चित्रित गर्दै आएका थिए, तर यही चुनावमा उनको लज्जास्पद हार भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org