ताजा समाचार

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् ।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको उनले लामिछानेले बताए।

पहिरोले घर बगाएर विस्थापित भएपछि छिमेकीको घरमा आश्रय लिएर बसिरहेको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए । उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका छन् ।

खाँदबारी–४ सेकाहाका चार घर पहिरोबाट विस्थापित भएका वडा नं ४ का वडाध्यक्ष विनोद सुब्बा गुरुङले जानकारी दिए । चिचिला गाउँपालिकाको वडा नं १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । जिल्लामा बाढी पहिरोले के–कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरी निरीक्षक लामिछानेले बताए ।

पहिरोले उत्तर–दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तरदक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकखण्डमा पर्दछ ।

निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । पहिरोका कारण करिब रु एक करोडको क्षति भएको सडक कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org