ताजा समाचार

भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो

काठमाडौं । भारतमा सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्एिको र कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन् ।

दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो । यात्रुबाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् । भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।

भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले एक विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिनुभएको छ । सिन्हाले भन्नुभयो, ‘एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’ मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उहाँले पुष्टि गर्नुभयो ।

–प्रधानमन्त्री मोदी र मुख्यमन्त्री बनर्जीद्वारा समवेदना व्यक्त–

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले दुर्घटनालाई ‘दुःखद’ बताउनुभएको छ । दुर्घटनाको केही क्षणपछि उहाँले ‘एम्बुलेन्स र डिजास्टर टिम’ घटनास्थलमा पुगेको र ‘युद्धस्तरमा उद्धारको काम’ गर्न आदेश दिएको बताउनुभएको थियो ।

स्थानीय प्रहरी अधिकारी इफ्तिकार–उल–हसनले एएफपीसँग भन्नुभयो, “धेरै घाइतेलाई भग्नावशेषबाट बाहिर निकालिएको छ । अझै चार जना घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्छ ।” दार्जिलिङका जिल्ला प्रहरी प्रमुख प्रवीण प्रकाशले उद्धार कार्य पूरा भएको र अहिले उद्धार टोलीले भग्नावशेष हटाउने काम गरिरहेको बताउनुभयो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org