ताजा समाचार

पत्रकार महासंघलाई चुनावी चटारो, यस्तो छ कार्यतालिका

विराटनगर । नेपाल पत्रकार महासंघको चुनावी माहोल बढ्दै गएको छ । आगामी असार २२ गते मतदान हुनेगरी महाधिवेशनको चुनावी माहोल तात्दै गएको हो । पत्रकार अगुवाहरु को कुन पदमा उठ्ने भनेर जोड घटाउ गर्न व्यस्त छन् । पत्रकारसँग आबद्ध संगठनका बैठकहरु बसिरहेका छन् । यता पत्रकार महासंघले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। महासङ्घको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशन गरेको हो ।

चुनावी कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि त्यही दिन गरिने छ । उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ । उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ ।

यसअघि असार १० गतेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ । असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने महासङ्घको निर्वाचन समितिले जनाएको छ। यसैबीच पत्रकार महासंघ कोशी प्रदेशको कार्यालयमा प्रेस युनियनले एक महिनादेखि लगाएको ताला जारी नै छ । वार्ता मिलेर ताला खुल्ने छाँटकाँट देखिएको छैन । जसका कारण २२ गते चुनाव हुने/नहुने अन्यौल छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org