ताजा समाचार

आईसीसी टि–२० विश्वकप २०२४ः उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि दक्षिण अफ्रिका र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार राति भएको खेलमा साविक विजेता इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि सन् २०१४ को विश्वकपमा भारतले फाइनल खेलेको थियो । त्यतिबेला श्रीलंकासँग ६ विकेटले पराजित भएको भारत यो पटक उपाधि चुम्ने दाउमा छ । दक्षिण अफ्रिका भने यसअघि नै सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल शनिबार हुने छ ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक २५ रन बनाए । १९ बलको सामना गरेका उनले तीन चौका प्रहार गरे । उनलाई भारतका कुलदीप यादवले बोल्ड गरेका थिए । त्यस्तै ओपनर जोस बटलरले १५ बलमा २३ रन बनाए । अर्का ओपनर फिल साल्ट ५ रनमा आउट भए । मोइन अलीले ८ रन बनाउँदा लियाम लिभिङस्टोने ११ रनमा रन आउट भए । जोफ्रा आर्चरले १४ बलमा दुई छक्का र एक चौका सहित २१ रन बनाए ।

भारतका लागि कुलदीप यादव र अक्षर पटेलले समान तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका यादवले १९ रन खर्चिदा त्यति नै ओभर बलिङ गरेका पटेलले २३ रन खर्चिए । यसअघि गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएका थियो ।

उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । ३९ बलको सामना गरेका रोहितले ६ चौका र २ छक्का प्रहार गरे । उनलाई १४ औं ओभरको चौथो बलमा इङ्ल्यान्डका आदिल रासिदले बोल्ड गरेका थिए । यस्तै सुर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा रविन्द्र जडेजा १७ मा नट आउट रहे । भारतले पहिलो विकेटको रुपमा विराट कोहलीलाई ९ र दोस्रो विकेटको रुपमा ऋषभ पन्तलाई चार रनमा गुमाएको थियो ।

इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए । चार ओभर बलिङ गरेका जोर्डनले ३७ रन खर्चिए । त्यस्तै रीस टोपले, जोफ्रा आर्चर, सैम करन र आदिल रशीदले समान एकएक विकेट लिए ।भारतीय टोली जारी प्रतियोगितामा अपराजित हुँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले पनि यो विश्वकपमा हार ब्यहोरेको छैन् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org