ताजा समाचार

देशका धेरै ठाउँमा वर्षा, होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातभर झरी परेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, अर्घाखाँची र स्याङ्जामा एकसय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।पूर्वदेखि पश्चिमसम्म नै धेरै ठाउँमा पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलामा बाढी आएको छ । पाल्पा, अर्घाखाँची र स्याङ्जामा ठूलो पानी परेपछि कालीगण्डकी र नारायणी नदीमा जल सतहले खतराको तह पार गरेको छ ।

काठमाण्डौ उपत्यका भएर बहने बागमती नदीमा पनि पानीको सतहले खतराको तह पार गरेको छ । तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदी लगायत क्षेत्र भइ बहने अरू स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र ती क्षेत्र भइ बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा रहनेलाई आज बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङ्गढी र आसपासको क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा भएकाले निस्ती खोला लगायत ससाना नदीमा आकश्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रमा बस्नेलाई आज बिहानसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौ उपत्यकाको विभिन्न वर्षामापन केन्द्रहरुमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरका धेरै स–साना नदीा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org