ताजा समाचार

६ वटा संसदीय समितिको बैठक बस्दै, ईयूको ‘सेफ्टी लिस्ट’ छलफलको विषय

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतको पाँच र राष्ट्रियसभाअन्तगर्तको एउटा समितिको बैठक बस्न लागेको संसदीय सचिवालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ईयूको सेफ्टी लिस्ट तथा नागरिक उड्डयन, नेपाल वायु सेवा निगमको कोरिया उडान अनुमतिका विषयमा छलफल हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको हालसम्मको कार्यप्रगति सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

बिहान ११ बजे बस्ने बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाडामा रहेका पसल कवलहरूको सम्झौताका विषयमा पनि छलफल गर्ने कार्यसूची छ ।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक बिहान साढे ११ बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा बालबालिकाको शैक्षिक विकासमा युनेस्कोले खेल्दै आएको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक लेखा समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि, बजार अनुगमनको अवस्था, उपभोक्ता हक संरक्षण र प्रवर्द्धन सम्बन्धमा देखिएका समस्या र सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org