ताजा समाचार

सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न

काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा संयन्त्रका सदस्यसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए । “सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएका छौँ । यस विषयमा आगामी सोमबार सरोकार भएकासँग छलफल गर्नेछौँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिरुप दिने सहमति भएको छ”, शार्नले भने ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा आगामी सोमबार सरोकार भएकासँग सुझाव लिएर अन्तिमरुप दिनेगरी आजको बैठक सकिएको जानकारी दिए। “हामी यो विषयलाई अन्तिम रूप दिँदैछौँ । अन्तिम ढाँचा तयार गर्न आवश्यक पर्ने केही सुझाव सोमबारसम्म लिन्छौँ । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुङ्ग्याउँछौँ”, उनले भने ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताए। अर्को बैठकपछि अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई बुझाउने उनले उल्लेख गरे। संयन्त्रमा नेपाली काङ्ग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org