ताजा समाचार

देशलाई प्रयोगशाला बन्न नदिन कांग्रेस-एमाले मिल्याैं: योगेश भट्टराई

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन्।

ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउने सोच सत्तारुढ गठबन्धनले लिएको बताए।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे। सचिव भट्टराईले दुई ठूलो दलको सरकार बनेयता मुलुकमा सकारात्मक सन्देश गएको दाबी गर्दै यसले यसले मुलुकलाई सही दिशामा अघि बढाउने दाबी समेत गरे।

उनले भने ‘अहिले देशका ठूलो पार्टीहरु एउटै सरकारमा बसिरहेका छौं। पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौं। नेपाल देशलाई धेरै प्रयोगशाला नबनाऔं। पटकपटक प्रयोगशालाहरु हुँदै आए। अब फेरि अर्को प्रयोगशाला नबनाऔं देशलाई। यी दुई वटा पार्टी एक अर्काका प्रतिस्पर्धी पनि हुन। र, यी दुई वटा पार्टी इतिहासका निर्माता पनि हुन। इतिहासको कठिन मोडमा नेपाल राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरु पनि हुन।’

सचिव भट्टराईले मुलुकलाई सही दिशा दिने प्रयत्न कांग्रेस–एमाले गरेको बताउँदै फेरी एक पटक यी दुई पार्टीले यसमा पहल लिएको सुनाए। ‘मलाई विश्वास छ, हामीलाई विश्वास छ कि यसले एउटा सकारात्मक सन्देश नेपाली जनताको बीचमा गएको छ। अर्थ तन्त्रलाई लयमा फर्काउनु छ। राष्ट्रिय आत्मविश्वासलाई हामीले बढाउनु छ। विदेशी मित्रहरुको विश्वास जितेर देश भित्र लगानीको वातावरण बनाउनु छ ।’ उनले भने।

सरकारले मुलुकमा बाह्य लगानी भित्र्याउने गरी वैदेशिक सम्बन्धलाई अघि बढाउने विश्वास पनि उनले व्यक्त गरे। ‘सबै विश्वका मुलुकहरुसँग हामी एउटा राम्रो सम्बन्धमा साथ उहाँहरुको सहानुभूति र सहयोग नेपालमा प्राप्त गर्न सक्ने ढंगले हामी जाऔं। दुईटा छिमेकी मुलुकहरु उत्तर र दक्षिणतिर चीन र भारत छन। उहाँहरुको समृद्धिबाट नेपाललाई कसरी फाइदा लिन सकिन्छ ? उहाँहरुका तनावबाट नेपाल कसरी मुक्त हुन्छ ? उहाँहरुको समृद्धिबाट हामीले कसरी फाइदा लिन्छौं यीनै विषयलाई सहज ढंगले अघि बढाउन नै यी दुई वटा पार्टी एक ठाउँमा आउनु परेको हो।’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org