ताजा समाचार

बंगलादेशमा सरकार विरुद्धको आन्दोलन उग्र, प्रधानमन्त्री हसिनाले देश छाडिन्

काठमाडौं । बाङ्ग्लादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेको बीबीसी बाङ्ग्लाले जनाएको छ।

जुलाई महिनादेखि सुरु भएको उक्त आन्दोलनमा विद्यार्थीहरुले सरकारी जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । उक्त आन्दोलन उग्र बन्दै हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । उनीहरूले आन्दोलनलाई थप सशक्त बनाउनुका साथै प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै आएका थिए।

सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ३०० जनाको मृत्यु भइसकेको छ । सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो।सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।

स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट विमान चढेर देशबाट बाहिर गएकी हुन्। हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ।

बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो। बाङ्ग्लाभाषाको पत्रिका ‘प्रोथोम आलो’को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले ‘साउन्ड ग्रिनेड’र अश्रुग्यास प्रहार गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org