ताजा समाचार

महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटानबिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने खेलमा आयोजक राष्ट्र नेपाल भुटानलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्य साथ मैदानमा उत्रने छ । यसअघिका हरेक संस्करणमा भुटानमाथि हावी बन्दै आएको नेपाल तुलनात्मक रुपमा बलियो रहेको छ ।

यसअघि साफको ६ संस्करणमा नेपालले चारपटक भुटानसँग खेलेको थियो । जसमा नेपालले सतप्रतिशत जित निकालेको थियो । सन् २०१४ को तेस्रो संस्करणमा नेपालले भुटानलाई ८–०, सन् २०१६ को चौथो संस्करणमा ८–०, सन् २०१९ को पाँचौँ संस्करणमा ३–० र सन् २०२२ को छैटौँ संस्करणमा ४–० ले हराएको नेपाललाई अपराजित शाख जोगाउने चुनौती पनि छ ।

पछिल्लो समय भुटानले फुटबल खेलमा राम्रो लगानी गरेकोले भुटानपनि नेपाललाई कडा टक्कर दिने लक्ष्यमा छ । नेपालका प्रशिक्षक राजेन्द्र तामाङले भुटान पछिल्लो समय राम्रो भएकोले सजग भएर खेल्ने बताउँछन् । ‘‘नेपालको एउटै लक्ष्य उपाधि हो । हरेक पटक फाइनलमा पराजित भएको तितो क्षणलाई यस पटक बिर्साउने योजनामा छौँ । टिमको रूपमा जस्मा १५ दिन तयारी गरेका छौँ । तर पनि टोलीमा अनुभवी खेलाडी भएकोले हरेक खेल जितका लागि खेल्नेछौँ,’’ प्रशिक्षक तामाङले भने ।

भुटानकी मुख्य प्रशिक्षक निकोला डेमाइनले नेपालसँग खेल्दा दबाब नहुने बताए । ‘‘मैदानमा हाम्रो प्रयास जितका लागि हुनेछ । घरेलु मैदानमा जित्ने दबाब घरेलु टिमलाई नै हुन्छ । नेपाल बलियो छ, तरपनि हामी राम्रो फुटबल खेल्दै नजिता निकाल्न चाहन्छौँ,’’ अष्ट्रेलियन मुलकी प्रशिक्षक निकोलाले भनिन् ।

कात्तिक १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपको समूह ‘ए’ मा साबिक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेको छ । समूह ‘बी’ मा आयोजक नेपालसहित माल्दिभ्स, भुटान र श्रीलङ्का रहेका छन् । बिहीबार भएको समूह ‘ए’ को पहिलो एवं उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५२ गोलले पराजित गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org