ताजा समाचार

धुलिखेल नगरपालिका र आली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना

काठमाण्डौ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासा र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागको सहआयोजनामा नेपाल र चीनका भगिनी शहरहरूबीच समन्वय तथा अनुभव आदान–प्रदान बैठक ल्हासास्थित साङ्ग्रिला होटलमा सम्पन्न भएको छ ।

सन् १९९९ मा बनेपा र सिगात्से नगरबीचको सम्बन्धबाट सुरु भएको भगिनी शहर सम्बन्ध २५ वर्ष पुगेको अवसरमा आयोजना गरिएको यो कार्यक्रम इतिहासमै पहिलोपटक सबै सम्बद्ध नगरपालिकालाई समेटेर गरिएको हो।

नेपालबाट पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलमा बागमती प्रदेश सरकार, काठमाडौं, पोखरा, भरतपुर, धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुरका प्रतिनिधिसहित २१ जनाको सहभागिता थियो। चिनियाँ पक्षबाट ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सान्नान, कारुओ नगर र आली प्रिफेक्चरको सहभागिता रहेको थियो।

कार्यक्रम उद्घाटनमा सिजाङ सरकारका उपाध्यक्ष झाओ पिंगले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। नेपाली पक्षका प्रमुख प्रतिनिधि मेयर आचार्यले चिनियाँ पक्षको न्यानो आतिथ्य र भविष्य निर्माणमा देखिएको सक्रियता प्रति आभार प्रकट गरे।

बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले पर्यटन, शिक्षा, व्यापार, प्रविधि लगायतका क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरे। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अवसरमा धुलिखेल नगरपालिका र आली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापनाका लागि आसयपत्रमा हस्ताक्षर समेत भएको छ।

नेपाली प्रतिनिधिहरूले पारस्परिक सहयोगमार्फत नेपाल–चीन सम्बन्ध अझ सशक्त र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org