ताजा समाचार

उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते

उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।   हावाहुरीले मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार आइतबार साँझ कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको छ ।

सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।

यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org