ताजा समाचार

पाकिस्तानी मदरसामा छापा, एक सय छ विद्यार्थी पक्राउ

pakक्वेटा (पाकिस्तान), १४ भदौ । पाकिस्तान प्रहरीले राज्यको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटा सहरमा सञ्चालित एक मदरसामा छापा मारी १०६ विद्यार्थीलाई पक्राउ गरेको सोमबार बताएको छ ।

प्रहरीले सरकारको अनाधिकृत रूपमा चलाएका धार्मिक विद्यालयलाई प्रशासनिक दायरामा ल्याउने अभियानस्वरूप उक्त मदरसामा अध्ययन गरिरहेका १४ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई शनिबार पक्राउ गरेको बताइएको छ । उनीहरू प्राय अफगानिस्तानबाट प्रशासनको अनुमति विना नै क्वेटा आई अध्ययन गरिरहेका बताइएको छ ।

पाकिस्तानले पछिल्लो समय अफगानिस्तानबाट विद्यार्थीका रूपमा सीमावर्ती क्षेत्रमा बसोबास गरी धार्मिक हिंसा भड्काउने गरेको आरोपमा मदरसामा अभियान नै चलाएर हिंसा नियन्त्रण गर्ने पहल सुरु गरेको छ ।
प्रहरीले मदरसा चलाउन प्रशासनबाट स्वीकृति लिएको कुनै कागजात दिन उक्त विद्यालयले नसकेपछि अनधिकृत रूपमा चलाएको आशङ्कामा विद्यालयलाई समेत बन्द गरिएको बताएको छ ।

बलुचिस्तानका गृह सचिव अकबर हरिफलले मदरसामा छापा मारी विद्यार्थीलाई छानबिनका लागि पक्राउ गरेको विषयलाई पुष्टि गर्नुभएको छ ।

पाकिस्तान सरकारले मुलुकभर अनधिकृत रूपमा सञ्चालनमा रहेका १३ हजार इस्लामिक धर्म पाठशालामाथि नजिकबाट हेरेको बताएको छ ।

सन् २०१४ को डिसेम्बरमा १५० जनाको ज्यान जानेगरी तालिवानी समूहद्वारा गरेको आक्रमणपछि पाकिस्तानले राष्ट्रिय कार्ययोजना बनाएरै मदरसाबाट सञ्चालन हुने गरेका आपराधिक गतिविधिमा नियन्त्रण ल्याउने अभियान सुरु गरेको छ ।

करिब १५ लाख वैधरूपमा र ठूलो सङ्ख्यामा अवैध रूपमा अफगानी नागरिक पाकिस्तानमा शरणार्थीको रूपमा बसोबास गर्दै आएका छन् । – एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org