ताजा समाचार

कारबाहीमा आठ तालिवानी आतङ्ककारी मारिए

imagesकुन्दुज (अफगानिस्तान) १५ असोज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको हाकताह जिल्लामा गत दुई दिनयता आतङ्ककारीविरुद्ध भएको सैनिक कारबाहीमा परी आठ तालिवान आतङ्ककारी मारिएका छन् ।

अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर उत्तरमा पर्ने यस कुन्दुज प्रान्तमा भएको कारबाहीको क्रममा अन्य कैयौँ आतङ्ककारी घाइते भएको सैनिक प्रवक्ता अब्दुल खलिलले शुक्रबार जानकारी दिनुभएको छ ।

अफगान सुरक्षाबलले बिहीबार बिहानबाट सुरु गरेको यस सुरक्षा कारबाहीमा शुक्रबार बिहानसम्म आठ विद्रोहीको मृत्यु हुनुको साथै अन्य कैयौँ आतङ्ककारी घाइते भएका बताइएको छ ।

यस कारबाहीको क्रममा उत्पन्न त्रासका कारण भारी सङ्ख्यामा गाउँले त्यहाँबाट विस्थापित भएको बताइएको छ ।

सुरक्षा कारबाहीमा मारिएका तालिवानहरूमा स्थानीय तालिवान कमान्डर मवलावी अब्दुल हाईसमेत रहेका छन् ।

यस सुरक्षा कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

विगत कैयौँ महिनायता सरकार सुरक्षाबलविरुद्ध हत्याहिंसा जारी राख्दै आएका तालिवान आतङ्ककारीहरू भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । – सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org