ताजा समाचार

लिबाङ नगरपालिकाको तेस्रो नगर परिषद् सम्पन्न

लिबाङ (रोल्पा), २२ पुस । नेकपा (एमाले) का सचेतक एवम् सांसद गोकुल घर्तीमगरले भौतिक पूर्वाधारको विकासले मात्र जिल्ला समृद्ध हुन नसक्ने भएको हुँदा जिल्लाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीसँगै मानवीय विकास अपरिहार्य भएको बताउनुभएको छ ।

विहिबार लिबाङ नगरपालिकाको तेस्रो नगरपरिषद्का अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनुभएको हो । घर्तीले हरेक क्षेत्रको विकासका लागि विकासे कार्यालयले छुट्टाछुट्टै बजेट विनियोजन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

यसैगरी, कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले राजनीतिक पार्टीका बीचमा फरक आस्था र विचार भएपनि जिल्ला बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिनुभयो ।

नगरपरिषद्का क्रममा लिबाङ नगरपालिकाका कार्यकारी प्रमुख निमबहादुर केसीले आव २०७२÷०७३ को यथार्थ आय रु चार करोड १३ लाख ९४ हजार २४६ तथा व्यय रु तीन करोड ९२ लाख तीन हजार ९८३ रहेको जानकारी दिनुभयो ।

केसीले २०७३÷०७४ को संशोधित चालु तथा पुँजीगततर्फ आय रु नौ करोड ४४ लाख ४४ हजार र व्ययतर्फ रु नौ करोड ४४ लाख ४४ हजार रहेको जानकारी दिनुभयो ।

यस्तै, उहाँले आव २०७४÷०७५ को चालु तथा पुँजीगततर्फ प्रस्तावित बजेट आय रु पाँच करोड ५४ लाख ७५ हजार र व्ययतर्फ रु आठ करोड ४६ लाख ३५ हजार विनियोजन प्रस्तुत गर्नुभयो ।

पूर्ण खोपयुक्त घोषणा

सोही अवसरमा लिबाङ नगरपालिकालाई २१ औँ पूर्ण खोपयुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि घर्तीमगरले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नुभएको हो ।

यसैबीच, विभिन्न क्षेत्र र तहबाट सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्ति, सङ्घसंस्था र पत्रकारलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसअन्तर्गत सहायक प्रमुख जिल्ला अधिकारी अनुनय बास्तोला, राससकर्मी एवम् जुनकिरी सञ्चार साप्ताहिकका प्रकाशक तथा सम्पादक कविता उपाध्याय, नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष काशीराम डाँगी, लिबाङ निवासी दलजीत नेपाली, नवराज आचार्य, प्रेमबहादुर डाँगी, सुमन आचार्य, रोल्पा समाचार राष्ट्रिय साप्ताहिक, रोल्पा रेडियो, सनस्टार युवा क्लब, सेतो गुराँस र मधुरमा युवा क्लबलाई सम्मान गरियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org