ताजा समाचार

जुम्ल्याहा बालकमा पछि जन्मिने जेठो भयो, कसरी ?

एजेन्सी । अमेरिकाको एउटा स्वास्थ्य केन्द्रले नवजात जुम्ल्याहा शिशुका बारेमा जबरजस्त प्रश्न राखेर धेरैलाई अन्योलमा पारिदियो । केप कोड हेल्थ केयरले गत ८ नोभेम्बरमा एक जोडी बाबुआमाले उनीहरुका जुम्ल्याहा बच्चा बोकिरहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको थियो । तस्बिरको क्याप्सनमा सोधिएको थियो, ‘सामुयल पहिले जन्मियो तर उसको जुम्ल्याहा रोनान जेठो भयो । यो कसरी सम्भव छ ?’

यो प्रश्नमा धेरैले आफ्नो दिमाग खियाए । तर सही जवाफ कसैले दिन सकेनन् । अन्त्यमा केप कोडले नै यसको सही जवाफ दियो ।
वास्तविकता यस्तो रहेछ ।

नोभेम्बर ६, आइतबारका दिन दिउसो १:३९ बजे सामुयलको जन्म भएको थियो । त्यसको ३१ मिनेटपछि २:१० बजे रोनानको जन्म भयो । तर त्यहि दिनबाट अमेरिकामा त्यस वर्षको ‘डे लाइट सेभिङ टाइम’ सकिएकाले घडी एक घन्टा पछाडि घुमाइयो । अमेरिकामा छोटो दिन सुरु हुँदा घडी एक घन्टा अगाडि घुमाउने र लामो दिन सुरु हुँदा एक घन्टा पछाडि घुमाउने प्रचलन छ । प्रत्यक मार्चको दोस्रो आइतबार दिउसो २ बजे घडी घुमाएर ३ बजे बनाइन्छ भने नोभेम्बरको पहिलो आइतबार दिउसो २ बजे घडी घुमाएर १ बजे बनाइन्छ ।

यसरी घडी घुमाउँदा रोनान जन्मेको आधिकारिक समय एक घन्टा अगाडि सर्‍यो र १ बजेर १० मिनेट कायम भयो । रेकर्डमा उ सामुयलभन्दा जेठो हुन पुग्यो ।

सही जवाफ थाहा भएपछि धेरै किसिमका प्रतिक्रियाहरु आएका छन् । क्यारी ड्राटोनले लेखेकी छिन्, ‘यो कथा उनीहरु ठूला भएपछि सुनाउनका लागि निकै रोचक हुनेछ ।’ एलिसन लुसीले लेखेकी छन्, ‘को जेठो भन्ने सवालमा उनीहरुले जीवनभर झगडा गर्ने भए ।’

केप कोड हस्पिटलमा सुत्केरी गराउने नर्स डेव टोटनले आफ्नो ४० वर्ष लामो नर्सिङ करियरमा यस्तो घटना पहिलोपटक देखेको बताइन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org