ताजा समाचार

प्रमुख प्रतिपक्ष एमालेसहित ९ दलको बैठक जारी

काठमाडौं, २४ पुस ।  सरकारले संविधान संशोधन बिद्येयकलाई अघि बढाउने तयारी गरिरहेका बेला त्यसलाई रोक्न आवश्यक रणनीति बनाउने भन्दै प्रमुख प्रतिपक्ष एमालेसहित ९ दलको बैठक आज बस्दैछ ।

सभामुखले सहमतिका लागि दिएको पछिल्लो ६ दिनको समयमा पनि सत्तारुढ दलहरुले संवादको पहल नगरेको भन्दै बिपक्षी दलहरुले सत्तारुढ दलहरुलाई दवाव दिन थप रणनीति तय गर्न लागेका हुन ।

सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयका केहीबेरमा बस्ने ९ दलीय गठबन्धनको बैठकले संविधान संशोधन बिद्येयकलाई टेवल गर्न दिने वा नदिनेवारे निर्णय गर्ने बताइएको छ । सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध खुलाउनेवारे केही लचक देखिएको एमालेले पछिल्लो ६ दिनमा सहमतिका लागि सरकारले कुनै पहल नगरेको भन्दै थप कठोर हुने  संकेत गरेको छ ।

सो पार्टीको हिजो बसेको स्थायी समिति बैठकमा संशोधन बिद्येयक अघि बढाउन नदिने बिषयमा छलफल भएको थियो । एमाले प्रमुख सेचतक भानुभक्त ढकालले सत्तारुढ दलले बिपक्षीलाई पेलेर जान खोजेकाले त्यसको सामना गर्न आफुहरु पनि कठोर रुपमा अघि बढ्ने बताउनुभयो । उहाँले संसद स्थगित भएपछिदेखी अहिलेसम्म सत्तापक्षले एक पटक पनि संवाद गर्न रुची नदेखाउनुले सरकारले सहमति गर्न नचाहेको स्पष्ट भएको टिप्पणी गर्नुभयो ।

स्रोतका अनुसार बिपक्षी दलहरुको बैठकले संसदको अवरोधलाई जारी राख्ने बिषयमा निर्णय लिन सक्नेछ । बिपक्षी दलहरुसंगको छलफलपछि एमालेले मध्यान्ह १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।  यसैबीच सहमतिका लागि भन्दै स्थगित गरिएको व्यवस्थापिका संसदको बैठक आजका लागि बोलाइएको छ । सभामुखले दिएको ६ दिनमा दलहरुबीच सहमति जुट्न नसकेकाले बिपक्षी दलको निर्णयमै आजको संसद बैठक भर पर्ने देखिएको छ ।

बिपक्षी दलहरुले संंसद बैठक संचालन हुन नदिने बिषयमा छलफल गर्न लागेकाले आजको बैठक पनि स्थगित हुने सम्भावना रहेको बताइएको छ । सत्तारुढ दलले आजको बैठकमा संशोधन बिद्येयक पेश गर्ने तयारी गरेपनि बिपक्षी दलको सहमति बिना सम्भव नहुने देखिएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org