ताजा समाचार

तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने

काठमाडौँ, २६ पुस । माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ । ”
नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको स्पष्ट पार्नुभयो ।
तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिनुभयो । उहाँले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ३० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पार्नुभयो ।

रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले नुवाकोटदेखि बेत्रावतीमा गोरु लगेर जुधाउने गरेकामा गोरु घाइते भएको खण्डमा रु १० हजार र मरेमा २५ हजारको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने, महासचिव शिव अधिकारी, पर्यटन व्यवसायी दीपक महतलगायतले परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइँ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभएको थियो । प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा गोरुजुधाइ राम्रो अवसर हो भन्नुभयो ।

नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइ हुने गरेको भनाइ छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org