ताजा समाचार

प्रेसकै कारण शान्ति प्रक्रिया टुंगियो,संविधान बन्यो : प्रधानमन्त्री दाहाल

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रेसको सकारात्मक भूमिका नभएको भए मौलिक ढंगबाट शान्ति र संविधानको प्रक्रिया सफलतामा टुङ्गाउन सम्भव नभएको बताएका छन् । बिहीबार बिहान भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘हामीले नयाँ संविधान निर्माण गरेका छौं, संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको छ । प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ हो भन्नेमा सरकार स्पष्ट छ ।’

२१ औं शताब्दी सूचना र प्रविधिको युग भएको प्रधानमन्त्रीले बताए । उनले भने, ‘२१ औं शताब्दी सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिको विकासले विश्व जगतमै महत्वपूर्ण परिवर्तन ल्याएको छ, सामाजि जागरण ल्याएको छ । यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने तपाईहरुको प्रयास प्रशंसनीय छ ।

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायतको प्रतिनिधि मण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले देखाएको लचकताको प्रशंसा गरेको थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org