ताजा समाचार

क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

बैतडी, ४ माघ । जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। चिसो बढेसँगै बसोबास तथा उपचारमा समस्या भएको हो। २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारी बताए। 

विसं २०४२ सालमा निर्माण गरिएको कारागार अहिले जीर्ण हुँदै गइरहेको छ। हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको छ। यस्तै, कारागारमा खानेपानी नहँुदा झनै समस्या भएको जेलर तिवारीले बताए। कारागारमा क्षमताभन्दा बढी कैदी भएकाले उपचारका लागि पनि उत्तिकै समस्या भएको छ।

कारागारमा एकजना अहेवको दरबन्दी भए पनि हाल उक्त दरबन्दी रिक्त हुँदा उपचारमा समस्या भएको हो। हिउँदको समयमा चिसोका कारण रुघाखोकीलगायत अन्य बिरामी पर्ने भए पनि औषधि नभएको बताइएको छ।

कारागारमा २५ जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले क्षमताभन्दा दोब्बर कैदी हुँदा नपुग्ने गरेको जेलर तिवारीले बताए। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org