ताजा समाचार

कुलमानको कामले ल्याउँदैछ विद्युतमा बहार,रक्सौंल परवानीपुर प्रसारण लाइन अन्तिम चरणमा

काठमाडौं, ७ माघ ।  उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ आएपछि प्रसारण लाइन निर्माणको काम तीब्र गतिमा अघि बढेको छ। बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको  ढल्केबर सवस्टेसनको काम सकिएर चार्चिङको काम समेत सुरु भइसकेको छ। दुर्इ वर्षमा हुन नसकेको काम पछिल्लो चार महिनामा भएको थियो। अहिले भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ । वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले बताए। 

 
विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औंद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । 
 
आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । कुल आठ दशमलव पाँच किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए। 
 
परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गृह मन्त्रालयले शान्तिसुरक्षा प्रदान गरेपछि अहिले आयोजनाले गति लिएका छन् । 
 
गत पुस २० गते ऊर्जा मन्त्री जर्नादन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समय भन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिइसकेका छन्।
 
आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्जका उद्योगी व्यवसायीले पनि सक्दो सहयोग गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधान लागि उद्योगीव्यावसायी लागिपरेको बताए।
 
यस्तै अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन कुशाहा– कटैयाको काम भने लगभग सम्पन्न भइसकेको छ ।करिब तीन किलोमिटर क्षेत्रमा प्रसारण लाइन स्तारोन्नति मात्रै गर्न बाँकी रहेको र सो कार्य चार दिनभित्र सकिने सो आयोजनाका प्रमुखसमेत रहेका मुखियाले भने।
 
‘‘ रक्सौल–परवानीपुर प्रसारण लाइन भन्दा केही दिन पहिले कुशाहा– कटैया प्रसारण लाइन निर्माण सम्पन्न हुन्छ । त्यसले नेपालको ऊर्जा आयातमा अर्को महत्वपूर्ण ढोका खोल्नेछ ’’ आयोजना प्रमुख मुखियाले भने।
 
सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहना इनर्जीले नै गरिरहेका छन् । 
 
ऊर्जा मन्त्रालयले विशेष चाँसो दिएका कारण आयोजनाले गति लिएको र मुलुकको ऊर्जा सङ्कट समाधानका लागि सहयोगी हुने विश्वास लिएको छ । हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा– कटैयाबाट एक सय मेगावाट विद्युत् आयात भइरहेका छन् । यस्तै भारतबाट हाल ३४० मेगावाट विद्युत् आयात भइरहेको छ । यही माघ १७ गतेबाट थप ४० मेगावाट विद्युत् थप आयात हुने छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org