ताजा समाचार

क्रान्तिको उपलब्धि संरक्षण गर्न स्थानीय निर्वाचन

 

काठमाडौँ, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको उपलब्धि संरक्षण गर्न पनि स्थानीय तहको निर्वाचन जरुरी भएकाले सरकार तम्तयार भएको बताउनुभएको छ ।

माओवादी घटकमा आबद्ध युवाको एकता बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचनलाई जसरी पनि सम्पन्न गराउने र त्यसैका लागि सम्पूर्ण तयारी गरिएको बताउनुभयो । केही दिनभित्रै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने जानकारी दिँदै उहाँले निर्वाचन परिवर्तन चाहने र नचाहने प्रवृत्तिबीचको सङ्घर्ष भएको उल्लेख गर्नुभयो ।

स्थानीय निकायको निर्वाचन हुन नदिएर सङ्घीयता नै असफल बनाउने खेल भएको भन्दै प्रधानमन्त्रीले कुनै पनि द्विविधा नराखी निर्वाचनमा क्रियाशील हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

परिवर्तनकारी शक्तिलाई विजयी गराउन युवा विद्यार्थीले विशेष योजनाका साथ काम गर्नुपर्ने स्पष्ट पार्दै उहाँले आगामी माघभित्र तीनवटै तहको निर्वाचन सम्पन्न हुने उल्लेख गर्नुभयो ।

विश्वव्यापी रुपमा दक्षिणपन्थी हावा बगेको भन्दै प्रधानमन्त्रीले नेपालमा पनि त्यसैलाई अगाडि बढाउन खोजिएकाले क्रान्तिकारी युवाले सत्य कुरा नेपाली जनतालाई बताउनुपर्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो – ‘‘परिवर्तनलाई कसरी सङ्कटमा पार्न सकिन्छ भनेर केही तत्व लागेको छ । त्यो चरित्रलाई परास्त गर्नु जरुरी छ । नेपाली जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता हो । त्यो काम केवल युवाले मात्रै गर्न सक्छन् ।’’

प्रधानमन्त्रीले युवालाई रोजगारी, क्षमताको विकास तथा सशक्तीकरणका लागि सरकारका तर्फबाट केही योजना सार्वजनिक गर्ने तयारीमा रहेको समेत जानकारी दिनुभयो ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहालले पार्टीको कार्यकारी तहमा युवालाई ल्याउने विषयमा आवश्यक तयारी भइरहेको समेत बताउनुभयो ।

सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य एवम् वाइसिएल नेपालका इन्चार्ज मणि थापाले माओवादी आन्दोलनलाई कमजोर बनाउन खोज्ने र ठान्नेहरुलाई परास्त गर्न युवा नै अगाडि आउनुपर्ने धारणा राख्नुभयो ।

वाइसिएल नेपालका संयोजक रामचन्द्र शर्माले युवालाई उचित जिम्मेवारी र कार्ययोजनाका साथ परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रसँग १० माओवादी घटकबीच गत जेठमा एकता भए पनि युवा सङ्गठनबीच भने औपचारिक रुपमा एकता हुन सकेको थिएन । आजको बैठकले सबै युवा सङ्गठनलाई एकीकृत गरेर वाइसिएललाई पुनः सशक्त प्रभावकारी सङ्गठनका रुपमा अगाडि बढाउने निर्णय लिएको वाइसिएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org