ताजा समाचार

महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु दुई करोड

 

म्याग्दी २७ माघ । सामाजिक अभियन्ता महावीर पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा ६ महिनाको अवधिमा रु दुई करोड सङ्कलन भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि रु ५० करोड उठाउने लक्ष्यका साथ गत साउनदेखि सुरु गरेको ‘महादान अभियान’ अन्तर्गत सरकारी सहयोगबाहेक नै देश–विदेशमा रहेका नेपालीबाट ६ महिनाको अवधिमा सो रकम सङ्कलन भएको हो । अहिलेसम्म आफूले कसैलाई पनि सहयोगका लागि पत्राचार वा आग्रह नगरेको र स्वतःस्फूर्त रुपमा सो रकम सङ्कलन भएको बताउने सामाजिक अभियन्ता पुनले अब भने देश–विदेशमा रहेका नेपालीलाई पत्राचार नै गर्ने जानकारी दिनुभएको छ ।

“सार्वजनिकरुपमा गरिएको आह्वानबाट नै दुई करोड सहयोग प्राप्त भयो, अब पत्राचार गरेर औपचारिकरुपमा नै सहयोगको आग्रह गर्छु”, पुनले भन्नुभयो । सामाजिक अभियन्ता पुनका अनुसार प्राप्त रकममध्ये धेरै रकम विदेशमा बस्ने नेपालीबाट सङ्कलन भएको छ । सबैभन्दा बढी प्रवासी नेपाली सङ्घ ‘मोना’, हङकङले एकमुष्ट रु ५७ लाख ४९ हजार दुईसय ९६ सहयोग गरेको पुनले जानकारी दिनुभयो ।

रकम हिमालयन र एभरेस्ट बैंकमा रहेको खातामा जम्मा भइरहेको छ । अब भने एक वर्ष भित्रमा रु ५० करोड सङ्कलन गर्न पुनले अभियानलाई व्यापक बनाउन सुरु गरेको बताउनुभयो ।

“अब हामी घरघरमा जान्छौँ, ढोका–ढोकामा पुग्छौँ,” पुनले भन्नुभयोे, “विदेशमा पनि बोलाएको ठाउँमा जाने योजना बनाइरहेको छु ।” रु ५० करोड जुटाएर जलविद्युत्मा लगानी गर्ने र जलविद्युत्बाट हुने आम्दानीलाई राष्ट्रिय आविष्कार केन्द्रका लागि प्रयोग गर्ने योजना पुनको रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org