ताजा समाचार

८ अर्ब लागतमा ठूला कारागार बन्दै

काठमाडौं । सरकारले नुवाकोटको विदुर र बाँकेको नौबस्तामा आधुनिक भवनयुक्त कारागार निर्माण गर्ने भएको छ । बिदुरमा केन्द्रीय कारागार र नौबस्तामा क्षेत्रीय कारागार निर्माणका लागि ठेकेदार कम्पनी छनोट भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

नुवाकोटको बिदुरमा ५ सय ३४ रोपनी जमिनमा ५ अर्ब रुपैयाँ लगानीमा केन्द्रीय कारागार निर्माण गर्न लागेको बिभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले बताए । यस्तै बाँकेको नौबस्तामा १० बिगाहा जग्गामा ३ अर्ब लागतमा क्षेत्रीय कारागार बन्न लागेको हो । यी दुवै कारागारका लागि ठेकेदार कम्पनी छनोट भइसकेकोले अब निर्माण प्रकृया अघि बढ्ने छन् ।
महानिर्देशक घिमिरका अनुसार बिदुरमा ५ हजार र नौबस्तामा २ हजार कैदी बन्दी राख्न सकिने क्षमताका हुने छन् । बिभागले आन्तरिक श्रोतबाट बिदुरमा १ करोड ५० लाख रुपैयाँ लागतमा कम्पाउण्ड वाल लगाइसकेको छ भने त्यहाँ शहरी बिकास तथा भवन बिभागले ४७ करोड ८१ लाख रुपैयाँको टेण्डर स्वीकृत गरिसकेको छ । नौबस्तामा ४३ करोड ७१ लाख रुपैयाँको टेण्डर स्वीकृत भएको छ ।

देशमा हाल ७२ कारागार छन् । धनुषा, बारा र भक्तपुरबाहेकका जिल्लामा कारागार छन् । भक्तपुरमा भने बाल सुधार गृह भने छ । देशभरका कारागारमा हाल करिव १८ हजार कैदी र बन्दी रहेका छन् ।

निर्माण सुरु हुन लागेका केन्द्रीय र क्षेत्रीय कारागारमा पर्याप्त जमिन भएकोले कैदी र बन्दीलाई बस्न राम्रो सुविधा हुनेछ । त्यहाँ निर्माण पूरा भएपछि सारिने कैदी र बन्दीलाई सीपमूलक काम गर्नलाई कुनै समस्या हुने छैन भने कारागारको रुपमा भन्दा पनि सुधार गृहको रुपमा कैदी र बन्दी रहनेछन् ।

हाल देशभरका कारागार २५ देखि २ हजार क्षमतामात्रका छन् । २५ जनाको क्षमता भएका कारागारमा १ सय जनासम्म कैदी र बन्दी राख्नु पर्दा खाना पकाउन, खान र सुत्न समस्या भइरहेको बिभागले जनाएको छ । केही कारागारमा त कैदी र बन्दी स्थानअभावले पालैपालो सुत्ने र खाना पकाउने गर्दै आएका छन् । ‘केन्द्रीय र क्षेत्रीय कारागार निर्माण पूरा भएपछि त्यस्तो अवस्था रहने छैन ।’ बिभागका महानिर्देशक घिमिरेले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org