ताजा समाचार

​विद्युत् चोरी गर्ने गिरोह भक्तपुरमा पक्राउ, १४ वटा पोलबाट ५०० मिटर तार तानेर विजुली चोरी

भक्तपुर ३ फागुन । सामुहिक रुपमा विद्युत् चोरी गरेर ७३ घरमा खानेपानी वितरण गर्दै आएका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाले तीन दिनको प्रयासपछि सूर्यविनायक नगरपालिका–६ गणेश मन्दिर जाने बाटोमा ज्योति एकेडेमी नजिकैको टोलबासीले विद्युत् चोरी भइरहेको सूचना दिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीको सहयोगमा विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् चोरी भएको स्थानबाट चोरीमा प्रयोग भएको पानी तान्ने मोटर, तार र अन्य सामग्री नियन्त्रण लिने क्रममा अवरोध गरेपछि महानगरीय प्रहरी वृत्त जगातेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कान्छा तमखु, लक्ष्मीप्रसाद प्रजापति, रत्नकाजी मानन्धर रहेका छन्। तकोपली खानेपानी उपभोक्ता समितिका अन्य पदाधिकारी फरार छन्।

खानेपानी उपभोक्ता समिति गठन गरेर प्रति घरधुरी रु दुई हजार ५०० प्रतिमहिना शुल्क लिएर पानी वितरण गर्दै आएको उक्त उपभोक्ता समूहले १४ वटा पोलबाट ५०० मिटर पर तार लगेर विद्युत् चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ।

विद्युत् प्राधिकरण भक्तपुर वितरण शाखाका प्रमुख विक्रम अमात्यले हुक हालेर १४ वटा पोल पार गर्दै जमिन मुनीको पानी चोरीको विद्युत्बाट तानेर वितरण गर्दै आएको तीन दिनको अनुगमनबाट खुलेको बताए।
अमात्यले भने ‘खानेपानी उपभोक्ता समिति नै गठन गरेर लामो समयदेखि मिटर जडान नगरी विद्युत् चोरी गरेर जमिनमुनिको पानी दोहन गर्दै पानी वितरण गरेको पायौँ, चोरीमा प्रयोग भएका सामाग्री नियन्त्रण लिन खोज्दा अवरोध गर्न आएपछि पक्राउ गरिएको हो।’

प्राधिकरणले समितिलाई क्षतिपूर्ति र जरिवाना गरी रु दुई लाख ५२ हजार १०० निर्धारण गरिएको बताउँदै उनले रकम भुक्तानी गरेपछि पक्राउ परेकालाई छाडिने पनि बताए।रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org