ताजा समाचार

स्ववियु निर्वाचन फागुन १४ मै गर्न तीन दल सहमत

काठमाडौं, ४ फागुन । स्ववियु निर्वाचन फागुन १४ मै गर्न मुख्य दलहरु सहमत भएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश क्याम्पसमा बिभिन्न माग राखी विद्यार्थीहरु आन्दोलनमा रहेका समय आवश्यक वातावरण निर्माण गरी निर्वाचन आगामी फागुन १४ गते नै गर्न मुख्य दलहरु एकमत भएका हुन् ।

कांग्रेस निकट नेविसंघले २८ बर्षे उमेर हदबन्दी खारेजीको माग गर्दै उपत्यकाका अधिकांश क्याम्पसमा तालाबन्दी गरेको छ भने नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीसमर्थित विद्यार्थीहरुले निर्वाचनको मिति सार्नु पर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान भएको प्रमुख तीन दलको बैठकमा क्याम्पसमा लगाएको ताला तत्काल खोल्ने सहमति भएको बैठकमा सहभागी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले न्युज–नेपाललाई जानकारी दिनुभयो ।

प्रमुख तीन दलका बिद्यार्थी संगठनका अध्यक्ष, त्रिभुवन विश्वबिद्यालयका उपकुलपति, रजिष्टार समेतलाई बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यक सुरक्षा ब्यवस्था मिलाइदिने आश्वासन दिदै निर्वाचनको वातावरण बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको थियो ।

सुरक्षा ब्यवस्था तथा क्याम्पसहरुमा जारी आन्दोलनबारे गृहमन्त्री निधिले आजै उपत्यकामा रहेका क्याम्पसका प्रमुख, केन्द्रीय निर्वाचन समितिका पदाधिकारी, आन्दोलनरत संगठनका प्रतिनिधिसँगै छलफलको तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org