ताजा समाचार

गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक : उपाध्यक्ष शाक्य

- रासस

काठमाडौँ, ४ फागुन । नेकपा ‘एमाले’का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज आयोजित यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

“व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनाँै”उहाँले भन्नुभयो “मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउन निर्वाचन नै एकमात्र विकल्प हो ।”

उहाँले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने बताउँदै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनेक बहानामा निर्वाचनको परिस्थिति भाँड्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सबै दल सचेत रहनुपर्ने बताउनुभयो ।

उहाँले आगामी माघ ७ गतेभित्र निर्वाचन गरेर देशलाई निकासको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले जित्न वा हार्नका लागि नभई देशलाई बचाउनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“चुनावको ढोका बन्द गर्नु कदापी हुँदैन । चुनाव नहँुदा पार्टीलाई अधिनायकतर्फ लैजान्छ” उहाँले भन्नुभयो “जनप्रतिनिधि नहुँदा बजेटमा हिनामिना भएको छ ।”

उहाँले वर्तमान सरकारले निर्वाचन गर्न नसके प्रमुख तीन दलसहित मधेसवादी दललाई समेत समेटेर नयाँ सरकार गठन गरेर चुनाव गर्नुपर्ने बताउनुभयो ।

एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारीले निर्वाचन पार्टीको एकमात्र एजेन्डा भएकोले निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाल पत्रकार महासङ्घमा प्रेस युनियन नेपालले लगाइएको ताला खोल्न आग्रह गर्नुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासङ्घको ताला खोलेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org