ताजा समाचार

परराष्ट्रमन्त्री डा महत– अध्यक्ष जङ्कर भेट

काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उहाँकै कार्यालयमा भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गर्नुभयो ।

युरोपेली सङ्घको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउनु हुँदै अध्यक्ष जङ्करले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिनुभयो ।

नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायुसेनालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जङ्करलाई अनुरोध गर्नुभयो । अध्यक्ष जङ्करले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि डा महतलाई आश्वासन दिलाउनुभयो ।

डा महतले अध्यक्षलाई नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे पनि जानकारी दिनुभयो । डा महतले आज लक्जेम्बर्गमा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री तथा विकास सहयोगमन्त्रीसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रासस
–––––

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org