ताजा समाचार

२ वर्षसम्म प्रहरी टेण्टमा,ओछ्यानमै शितले भिज्छन् प्रहरी

काठमाडौं । विनाशकारी महाभूकम्प गएको पनि २२ महिना पुगिसक्यो । यति लामो समयसम्ममा पनि अधिकांश भूकम्प पीडित टहरामा नै जिउन बाध्य छन् । अझ आफ्ना दुःख, कष्ट विर्सेर सधैं जनताको सेवामा खटिने प्रहरीहरु पनि टेण्टमा नै बस्ने गरेका छन् । र,त्यहीँबाट कार्यालय सञ्चलन गर्न वाध्य भइरहेका छन् । यहाँसम्म कि टेण्टमा सुतेका प्रहरी बिहान उठ्दा शितले सिरक भिज्दा पनि टेण्ट छोड्न पाएका छैनन् ।

भूकम्पले महानगरीय प्रहरी परिसर र अपराध महाशाखा काठमाडौंको वसन्तपुरको भवन भत्केपछि नेशनल ट्रेडिङ लिमिटेडको टेकुस्थित भवनमा सारियो । त्यहाँ ती दुई कार्यालय सञ्चालन गर्न पर्याप्त स्थान नभएपछि एक दर्जनको संख्यामा टेण्ट जडान गरिए । तिनै टेण्टबाट कार्यालय सञ्चालनदेखि प्रहरीहरु सुत्न टेण्टको प्रयोग गरियो ।

अचम्मतः यति लामो समयसम्म पनि टेण्टको बिकल्प खोजिएको छैन । ‘भूकम्पपीडितलाई करोडौं रकम बितरण गरिसकेको सरकारले प्रहरीका लागि भने न भवन बनाउन चासो देखाएको छ, नत व्यवस्थित रुपमा कार्यालय सञ्चालन गर्ने बिकल्प नै दिएको छ ।’ एक प्रहरी अधिकारी प्रश्न गर्छन्, ‘देशको कानुन पालना गराउने प्रहरीप्रति सरकार किन उदासिन भइरहेको छ ?’
महानगरीय प्रहरी कार्यालयका नायव उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार खाद्य संस्थानको माइतिघरस्थित जग्गामा टेकुमा रहेको प्रहरीलाई सार्न प्रस्ताव गरिए पनि त्यो अझै टुंगोमा पुगेको छैन । ‘हामी तल्लो दर्जाका प्रहरीलाई टेण्टमा सुत्ने व्यवस्था मिलाएको छ, रातभर शितले भिजिन्छ, को सँग गुनासो सुनाउनु र ।’ एक जवानले न्जुजनेपालसँग भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org