ताजा समाचार

प्रदूषण नियन्त्रण गर्न प्रभावकारी नीतिको खाँचो

काठमाडौँ, ८ फागुन । काठमाडौँ उपत्यकाको प्रदूषण नियन्त्रणका लागि प्रभावकारी नीतिको खाँचो औल्याइएको छ ।

राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको संयोजन तथा काठमाडौँ उपत्यकाका सांसदको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा व्यवस्थापिका–संसद्, वातावरण समितिका सदस्य मानबहादुर विश्वकर्माले नीति बनाउने तर कार्यान्वयन पक्ष फितलो हुँदा उपत्यकाको प्रदूषण नियन्त्रणमा समस्या परेको बताउनुभयो ।

सांसद ध्यानगोविन्द रञ्जितले पहिलेको पवित्र काठमाडौँ उपत्यका अहिले रोगको खाल्डो हुँदै गएकाले प्रदूषण नियन्त्रणका लागि सबै पक्ष एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद भीमसेनदास प्रधानले उपत्यकाको प्रदूषण नियन्त्रणका लागि संसद्मा छुट्टै समिति बनाउन आवश्यक रहेको बताउँदै पुराना सवारीसाधनलाई हटाउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद ओमदेवी मल्लले सरकारले बनाएको नीति, नियम नमान्नेलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मणलाल राजवंशीले उपत्यकामा जनसङ्ख्या वृद्धिसँगै बढेको कलकारखाना र सवारी साधनको धुवाँले प्रदूषण बढेकालेसरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष गङ्गाबहादुर थापा, वातावरणविद् मञ्जित ढकाल, वातावरणमैत्री यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष उमेशराज श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका ऊर्जाविद् हितेन्द्रदेव शाक्यलगायतले विद्युतीय सवारी साधन प्रयोग गरे केही हदसम्म उपत्यकाको प्रदूषण नियन्त्रण हुने धारणा राख्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org