ताजा समाचार

देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ– राष्ट्रपति

 

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवं उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताएकी छन् ।

पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उनले भनिन्, “उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्यबन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो ।”

राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगत्मा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै “मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र अन्तर्राष्ट्रिय बजारमा खपत हुने जनशक्ति उत्पादन गर्न सचेत रहनु आजको भूमण्डलीकरणको युगमा समयसापेक्ष हुन आउँछ ।” भनिन् ।

मुलुकका समाजवाद उन्मुख अर्थव्यवस्था निर्माण गर्ने संवैधानिक मूल्यमान्यता र आदर्शलाई मूर्तरुप दिन हाम्रो शिक्षा प्रणाली त्यहीअनुरुप तर्जुमा गरी कार्यान्यन गर्नु आजको सर्वोपरी आवश्यकता भएकोमा जोड दिदैं उनले नेपालमा पर्याप्त स्रोत साधन रहेको र तिनीहरूको समुचित परिचालनबाट देशले चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सक्ने बताइन् ।

राष्ट्रपति भण्डारीले ज्ञान तथा सीप हासिल गरेका युवा जनशक्ति र प्राकृतिक स्रोतसाधनको यथोचित र समन्वयात्मक परिचालनले देशको सर्वाङ्गीण विकासको गति बढाउन सकिने धारणा राखेकी छन् ।

दीक्षित विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै उनले आफ्नो देश, समाज र जनताप्रति समर्पित बन्दै यहाँको मौलिकता, संस्कृति र वैभवप्रति गर्व गरी राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध रहन आग्रह गरेकी छन्।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा मन्त्री धनीराम पौडेलले दीक्षित विद्यार्थीले प्राप्त गरेका ज्ञान तथा सीपलाई समाज र राष्ट्रको हितमा उपयोग गर्ने विश्वास व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org