ताजा समाचार

विद्युत चुहावट नियन्त्रणमा कुलमानको कमाल, ६ महिनामा साढे चार प्रतिशत चुहावट घट्यो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण अभियान चलाएर चर्चित छन् । उनले ‘एग्रेसिभ’ कारवाही अघि बढाएपछि ६ महिनामा साढे ४ प्रतिशत विद्युत चुहावट घटेको छ।

उनी आएपछि जिल्ला÷जिल्लामा विद्युत चुहावट नियन्त्रणमा अभियान चलाएका छन्। उनले पछिल्लो समयमा वर्षोदेखि मिटर रिडिङ गरेका २५ सय कर्मचारी समेत सरुवा गरेका थिए।विद्युत चोरी नियन्त्रणमा संलग्न रहेका कर्मचारीको ठूलो समूह पनि पक्राउ परिसकेको छ।यही अभियानले चोरी नियन्त्रणमा प्राधिकरणलार्इ सफलता मिलेको हो।

सबै भन्दा धेरै विद्युत चुहावट हुने जनकपुर क्षेत्रमा करिव १४ प्रतिशतले चुहावट नियन्त्रण भएको छ। जनकपुर क्षेत्रमा अघिल्लो वर्ष ५२ दशमलव २३ प्रतिशत रहेको चुहावट यो वर्ष ३८ दशमलव ६१ प्रतिशतमा झरेको छ। १४ प्रतिशतले चुहावट घटे पनि जनकपुर सबै भन्दा बढी चुहावट हुने क्षेत्र हो।

जनकपुरपछि धेरै चुहावट हुने विराटनगरमा पनि ३ दशमलव ७१ प्रतिशतले चुहावट नियन्त्रण भएको छ। विराटनगर क्षेत्रमा अघिल्लो वर्ष १९ दशमलव ७८ प्रतिशत रहेको चुहावट यो वर्ष १६ दशमलव ७ प्रतिशतमा झरेको छ।

तेस्रो नम्बरमा सर्वाधिक चुहावट हुने बुटवल क्षेत्रमा भने २.७५ प्रतिशतले मात्र चुहावट नियन्त्रण भएको विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। बुटवल क्षेत्रमा गत वर्ष १८.८७ प्रतिशत रहेको चुहावट अहिले १६.१२ प्रतिशतमा झरेको छ।

चौथो बढी चुहावट हुने हेटौडा क्षेत्रमा पनि २.८५ प्रतिशतले विद्युत चुहावट नियन्त्रणमा आएको छ। गत वर्ष १७.६४ प्रतिशत रहेको चुहावट यो वर्ष १४.७९ प्रतिशतमा झरेको छ।

नेपालगञ्ज क्षेत्रमा भने १ प्रतिशत हाराहारीमा मात्र चुहावट नियन्त्रण भएको छ। गत वर्ष १५.६३ प्रतिशत रहेको चुहावट यो वर्ष १४.८४ प्रतिशत कायमै छ।
पोखरामा गत वर्षकै जति १४ प्रतिशत चुहावट कायमै छ।

काठमाडौं र अत्तरियामा चुहावट सामान्य बढेको छ। काठमाडौंमा गत वर्ष ११.३१ प्रतिशत रहेको चुहावट यो वर्ष ११.३७ प्रतिशत पुगेको छ। त्यस्तै अत्तरिया क्षेत्रमा पनि गत वर्ष १३.२५ प्रतिशत रहेको चुहावट यो वर्ष १३.३१ प्रतिशत पुगेको छ। काठमाडौंमा नियमित विद्युत आपूर्ति हुँदा चुहावट सामान्य तलमाथि हुनसक्ने अधिकारीले बताए।

समग्रमा भने चुहावट साढे ४ प्रतिशतले घटेको छ। गत वर्ष यो समयमा २७.५ प्रतिशत रहेको चुहावट अहिले २३ प्रतिशतमा झरेको छ। गत वर्षको साउनदेखि पुस सम्मको विवरण अनुसार भने यो वर्षको साउन देखि पुस सम्ममा ३.६८ प्रतिशत मात्रै चुहावट घटेको थियो। गत वर्ष यहि समयमा २०.३८ प्रतिशत रहेको चुहावट यो वर्ष १६.७५ प्रतिशत रहेको थियो।

 

विद्युत चुहावट गतवर्ष र यो वर्षको सुरुवाती ६ महिनाको विवरण

वितरण क्षेत्र गत वर्षको चुहावट प्रतिशत यो वर्षको चुहावट प्रतिशत फरक प्रतिशत
जनकपुर ५२.२३ ३८.६१ -१३.६२
विराटनगर १९.७८ १६.७ -३.७१
बुटवल १८.८७ १६.१२ -२.७५
हेटौडा १७.६४ १४.७९ -२.८५
नेपालगञ्ज १५.६३ १४.८४ -०.७९
पोखरा १४.३८ १४.१६ -०.२२
काठमाडौं ११.३१ ११.३७ +०.०६
अत्तरिया १३.२५ १३.३१ +०.०६

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org