ताजा समाचार

यस्ता छन् काठमाडौं महानगरमा एमालेका मेयर दाबेदार

 

काठमाडौं । आगामी बैशाख ३१ गते स्थानीय निकायको निर्वाचन हुने या नहुनेमा अझै अन्यौल नै छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेपाल कम्युनिष्ट पार्टी बिप्लव समूह र केही पहाडका हतियारधारी जातीय समूह निर्वाचनमा सहभागी नहुने र हुन पनि नदिने अडानमा छन् । यसै समयमा निर्वाचनको माहोल भने अघि बढिरहेको छ ।

निर्वाचन आयोगले मतपत्र छाप्न नै सुरु गरिसकेको छ । अहिले राष्ट्रियताको विषय र मेची–महाकाली अभियानका कारण नेकपा एमाले सबैको चासोको बिषय बनेको छ ।
देशकै राजधानी र मुख्य राजनीतिक केन्द्र मानिने काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट मेयरका लागि को को प्रतिस्पर्धी छन् त ? यो प्रश्नमा चिया पसलदेखि पानपसल र चौतारीसम्म छलफल र बहस हुन थालेको छ ।
एमाले उच्च स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराई, एमाले मुख्यालयका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ मेयरका प्रमुख दावेदार देखिएका छन् । भट्टराई र श्रेष्ठमात्र होइन यो लाइनमा जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्यसम्म चर्चामा छन् । यस्तै उपमेयरमा पार्टी सचिव शंकर पोख्रेलकी श्रीमति सुजिता शाक्य, विद्या न्यौपाने, रन्जना मास्केको नाम चर्चामा छ ।
२०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेकै केशव स्थापित मेयरमा निर्वाचित भएका थिए । तर, उनी दिनदिनै अलोकप्रियमात्र बनेनन् पार्टी नीतिविपरीत नै गएर अभिव्यक्ति दिन थालेपछि उनलाई पार्टीले यस पटक मेयरमा नउठाउने पक्का छ ।
देश संघीयतामा गएपछि ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका भएका छन् । पछिल्लो राजनीति गतिविधिका कारण निर्वाचन भएमा २०५४ को जस्तै नेकपा एमालेले स्थानीय निकायमा बहुमत ल्याउनेमा एमाले नेताहरु ढुक्क छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org