ताजा समाचार

विगतमा भएका समझदारी लागू हुनुपर्ने – अध्यक्ष ठाकुर

विराटनगर, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाका अध्यक्ष महन्थ ठाकुरले संयुक्त मधेसी मोर्चासँग विगतमा भएका समझदारीलाई सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन् ।

सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संसद्मा प्रस्तावित सीमाङ्कनलगायतका विधेयकलाई परिमार्जनसहित पारित गर्नुका साथै धारा २७४ लाई पनि संशोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

अध्यक्ष ठाकुरले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले विरोध गर्ने र निर्वाचन हुन नदिने मोर्चाको स्पष्ट अडान रहेको बताउँदै सरकारले जबर्जस्ती निर्वाचन गराए पनि त्यस्तो निर्वाचन मान्य नहुने धारणा व्यक्त गरे

वार्ताको पक्षमा मोर्चा सदैव तत्पर छ, उनले भने — ‘सिके राउतको एजेन्डा मोर्चाको एजेन्डा भन्दा बिल्कुलै फरक छ ।’

अध्यक्ष ठाकुरले जनसङ्ख्याको सिद्धान्त विपरीत पुनःसंरचना आयोगले स्थानीय तहको संरचना निर्माण गरेको उल्लेख गर्दै “५१ प्रतिशत जनसङ्ख्या भएको मधेसमा मात्र ३५ प्रतिशत र ४९ प्रतिशत जनसङ्ख्या भएको हिमाल, पहाडका लागि ६५ प्रतिशत भाग छुट्याएका संरचनाको तह मान्य हुने छैन भने।”

सङ्घीयतामा केन्द्र र प्रदेश दुई तह हुनुपर्नेमा नेपालमा स्थानीय तहसमेत गरी तीन तह गरेको उल्लेख गर्दै उनले भने – ‘प्रदेशको माहतहमा स्थानीय तह राखेर दुई तह बनाउनुपर्ने मोर्चाको माग छ ।’

अध्यक्ष ठाकुरले स्थानीय तह पुनःसंरचना आयोगले विवादित संरचना बनाएको र पूर्णता नपाएको अवस्थामा निर्वाचनको घोषणा गर्नु गलत भएको स्पष्ट पारे।

दलको मान्यताका लागि तीन प्रतिशतको थ्रेसहोल्ड मान्य नहुने उल्लेख गर्दै उनले संसद्देखि सडकसम्म यसको विरोध गर्ने जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org