ताजा समाचार

तामाखानी उत्खननको पर्खाइमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीमा रहेको तामाखानी संरक्षण र उत्खननको पर्खाइमा रहेको छ ।

डेढ शताब्दीदेखि बन्द अवस्थामा रहेको तामाखानी संरक्षणको अभावमा बेवारिसे बनेको छ । साविक पाखापानी गाविसको– ५ र ६ नम्बर वडामापर्ने ठाडाखानी गाउँ भन्दामाथि पहाडको फेदीमा रहेका खानी संरक्षण नहुँदा पुरिँदै गएका छन् ।

तत्कालीन सरकारले आम्दानी भन्दा बढी कर ९भेजा० तिर्नुपर्ने व्यवस्था गरेपछि खानी बन्द भएको ठाडाखानीका ८८ वर्षीय रनप्रसाद छन्त्यालले बताए ।  दुईपुस्ता अघिसम्म खानीबाट तामा उत्खनन भएको उनको भनाइ छ ।

ठाडाखानी गाउँदेखि एक घन्टा पैदल हिँडेपछि पुगिने पूर्णगाउँस्थित पहाडको फेदीमा त्यसबेला खानी खन्नका लागि बनाइएको सुरुङ भेटिन्छ । त्यहाँ तामाखानीभित्र पस्ने १२ वटा सुरुङ रहेका छन् । ठाडाखानीमा बसोवास गर्ने छन्त्याल समुदायका पूर्खाले ती सुरुङभित्र छिरेर तामा उत्खनन गरी जीविकोपार्जन गर्दै आएका थिए ।

ठाडाखानीको तामा भाँडावर्तन र सिक्का बनाउन प्र्रयोग हुने गरेको थियो । देशका विभिन्न ठाउँका व्यापारी तामा किन्नका लागि गाउँमै पुग्ने गरेका थिए । तामाबाट ताउला, गाग्रीलगायतका भाँडा बनाउने गरिन्थ्यो ।

अहिले नेपाली बजारमा आयातित तामाको प्र्रयोग हुने गरेको छ । अध्ययन, अनुसन्धान गर्ने हो भने अहिले पनि तामा उत्खननको सम्भावना रहेको स्थानीय बासिन्दा नरेश छन्त्यालले बताए ।
आधुनिक प्रविधि र यन्त्र उपकरणको विकास भएकाले तामा उत्खनन गर्न सकिने उहाँको भनाइ छ । सरकारी निकायसँग ठाडाखानीका बासिन्दाले तामाखानीको संरक्षण र अनुसन्धानको माग गरेका छन् । हिलो, पातपतिङ्गर र बाढीले तामाखानीभित्र पस्ने सुरुङ पुरिँदै गएका छन् ।

एक किलोमिटर भित्रसम्म सुरुङ रहेको स्थानीय बासिन्दा बताउँछन् । पहाडको फेदीमा रहेको पाखोमा खानीबाट निकालेपछि तामा प्रशोधन गर्ने क्रममा फालिएका धातुका टुक्रा प्रशस्त भेटिन्छ ।

ठाडाखानीमा ९० घरधुरी छन्त्याल, मगर र दलित समुदायको बसोवास छ । उनीहरु तामा खन्नका लागि बागलुङको लामेला तमानबाट बसाइँसराइ गरेर आएको बुढापाकाले बताए ।छन्त्याल समुदायको पुख्र्यौली पेसा तामा खन्ने रहेको थियो ।

तामाखानी सञ्चालनमा आएमा रोजगारीको सिर्जना र स्थानीयस्तरमै आयआर्जनको अवसर प्राप्त हुने ठाडाखानीका मनबहादुर बुढाथोकीले बताए ।
स्थानीय तह कार्यान्वयनमा आएसँगै ठाडाखानीलगायत म्याग्दीका विभिन्न ठाउँमा रहेका खानी सञ्चालनमा आउने आशा पलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org