ताजा समाचार

नयाँ शक्तिको यस्तो पो नयाँ रै’छ !

काठमाडौं ।  यतिबेला दुइटा पार्टी आन्दोलनमा छन् । एउटा डा. बाबुराम भट्टराईको नयाँ शक्ति भइहाल्यो । अर्को उपेन्द्र यादवको संघीय समाजवादी फोरम । दुवै दल आन्दोलनमा भए पनि माग भने नितान्त फरक छन् । अझ उल्टै छन् भन्दा पनि फरक नपर्ला ।

नयाँ शक्ति आफूलाई चुनावमा भाग लिनबाट बञ्चित गरेकोले आन्दोलनमा छ । फोरम आफूलाई जबर्जस्ती चुनावमा भाग लिन लगाउन खोजेकोले आन्दोलनमा छ ।  फोरम चुनावमा जान चाहिरहेको छैन, त्यसैले आन्दोलनमा छ । नयाँ शक्ति जसरी हुन्छ चुनावमा जान खोजिरहेको छ, त्यसैले आन्दोलनमा छ ।

तर, अनौठो के भने चुनावका बारेमा यति उल्टो पाल्टो बिचार राख्ने यिनै दुइटा पार्टी अहिले एकीकरण पनि हुँदैछन् । अचम्म छैन त ? दुइटा पार्टी कसरी एकीकरण हुन्छ ? एउटा चुनावमा भाग नलिने पार्टी, अर्को चुनावमा भाग लिने पार्टी । केही गरी फ्याट्ट एकीकरण भइहाल्यो भने चुनावमा यो पार्टीले के गर्ला ?

भाग लेला कि नलेला ? अथवा चीनमा ‘वन कन्ट्री टु सिष्टम’ भने जस्तै यो पार्टीमा पनि ‘वन पार्टी टु सिष्टम’ हुने हो कि ? जसलाई भाग लिनु छ उसले भाग लिने, जसलाई बहिष्कार गर्नु छ उसले बहिष्कार नै गर्ने । पार्टी एउटै हो तर चुनाव नीतिचाहिँ दुइटा ! के यस्तो हुने सम्भावना छैन ?  एकीकरण भएपछि पार्टीको नाम पनि नयाँ नै आउँछ होला । नयाँ नामचाहिँ के राख्ने होला ? ‘नयाँ फोरम’ भनेर राख्ने हो कि ? वा ‘नयाँ शक्ति नेपाल संघीय समाजवादी फोरम नेपाल’ अर्थात छोटकरीमा ‘नशनेसंसफोने’ भनेर राख्ने हो कि ? केही सोच्नुभएको होला नि !

 

 

 

जनआस्था साप्ताहिकमाबाट  

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org