ताजा समाचार

महान्यायाधिवक्ता श्रेष्ठले नै गरेनन् सर्वोच्चको आदेश पालना

काठमाडौं २८ चैत । महान्यायाधिवक्ताले नै सर्वोच्च अदालतको आदेश पालना नगरेको भन्दै सरकारी वकिल टेकबहादुर घिमिरेले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ विरुद्ध अवहेलना मुद्दा दायर गर्ने बताएका छन् ।

कानून भन्दा माथि कोही छैन । महान्यायधिवक्ता रमण श्रेष्ठले कानूनी राज्यको उपहास गरेको भन्दै सहमहान्यायाधिवक्ता समेत रहेका घिमिरेले महान्यायाधिवक्ता श्रेष्ठविरुद्ध अवहेलना मुद्दा हाल्न लागेको बताएका हुन् ।

नेपाल सरकारको गत फागुन २५ गतेको निर्णय अनुसार निलम्बनमा परेका सहमहान्यायाधिवक्ता घिमिरेलाई अर्को आदेश नभएसम्म उनको निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले चैत २० गते अन्तरिम आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले त्यस्तो आदेश दिएको हो ।

सर्वोच्चले घिमिरेको निवेदनमाथि बुधबार पेशी तोकी दुवै पक्षलाई छलफलमा झिकाएको छ । घिमिरेलाई न्याय सेवा आयोगको सिफारिसबमोजिम निलम्बन गर्नुपर्नेमा त्यस्तो नभएको देखिएको भन्दै अदालतले दुवै पक्षलाई छलफलका लागि चैत ३० गते झिकाएको हो ।

अदालतको अन्तरिम आदेश लिएर हाजिर हुन महान्यायाधिवक्ताको कार्यालय पुगेका सहमहान्यायाधिवक्ता घिमिरेलाई महान्यायाधिक्ता श्रेष्ठले हाजिर नगराएपछि आफू अवहेलना मुद्दामा जान बाध्य भएको घिमिरेले बताए ।
महान्यायाधिवक्ता श्रेष्ठले आफूमाथि व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाए ।

महान्यायाधिवक्ता श्रेष्ठले भने अन्तरिम आदेश निरन्तर नहुन सक्ने भन्दै ३० गतेसम्म घिमिरेलाई हाजिर नगर्ने अडान राखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org