ताजा समाचार

मोर्चाद्वारा संसद् बैठक बहिष्कार,अर्को बैठक वैशाख ७ गते

काठमाठौं २९ चैत । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज पनि व्यवस्थापिका–संसद् बैठक बहिष्कार गरेको छ ।

बैठक सुरु हुनेबित्तिकै मोर्चामा आबद्ध सांसदहरु उभिएपछि सभामुख ओनसरी घर्तीले सांसद अकबल अहमद साहलाई बोल्न अनुमति दिइन । सांसद साहले आफूहरुले सञ्चारमाध्यममार्फत सरकारले सीमाङ्कनको विषय छाडेर नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गर्दैछ भन्ने जानकारी पाएको बताउँदै हाल विचाराधीन संशोधन प्रस्ताव पारित गर्नुपर्ने माग गरे ।

उनले संविधानको धारा २७४ खारेज गरेर एक अधिकारसम्पन्न सीमाङ्कन निर्धारण सङ्घीय आयोग गठन गर्न माग गर्दै आयोगले प्रतिवेदन तयार पारी संसद्मा प्रतिवेदन आएपछि मात्र संशोधन फिर्ता हुनुपर्ने बताए ।

सांसद साहले स्थानीय निकाय पुनःसंरचना आयोगले निर्धारण गरेको तह निर्धारण आफूहरुलाई मान्य नभएको जनाउँदै उनले जनसङ्ख्यानुसार तह निर्धारण नभएसम्म मोर्चाले निर्वाचनमा भाग नलिने र हुन पनि नदिने जिकिर गरे ।

संशोधन विधेयक पारित गरी मोर्चाको माग पूरा नभएसम्म निर्वाचन सम्भव नहुने बताउँदै उनले मोर्चाका तर्फबाट आजको बैठक बहिष्कार गरिएको जानकारी गराएका थिए ।

त्यस्तैगरी सरकारले संसद्मा विचाराधीन ‘नेपालको संविधान ‘दोस्रो संशोधन’, २०७३’ प्रस्ताव फिर्ता लिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद् बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन ।

सो अवसरमा मन्त्री नायकले सरकारले समस्या समाधानका लागि सो प्रस्ताव फिर्ता लिएको अवगत गराउँदै यसका लागि सबैको सहमति आवश्यक रहेको वताए । अब सबैलाई सहमतिमा आउन आग्रह गर्दै उनले प्रतिपक्ष दल र आन्दोलनरत दललाई सहमतिका साथ निर्वाचनमा होमिन समेत आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org